१५ जेठ, इटहरी ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश १ समितिले पार्टी हित विपरत गतिविधि गरेको भन्दै ११ जनालाई निष्काशनको कारबाही गरेको छ ।
जसपा नेपाल प्रदेश १ अध्यक्ष दिपक याक्खाले विज्ञप्ति जारी गर्दै प्रदेशका एक पदाधिकारी, दुई निकाय प्रमुख र सात जना प्रदेश समिति सदस्यहरुलाई निष्काशन गरेको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा ‘पार्टी विधान, घोषणा–पत्र, नीति, कार्यक्रमविरुद्ध गतिविधि गरेको ठहर भएको हुँदा जसपा नेपालको पार्टी विधानको धारा १३ को (६), धारा १२७ को (१), (७) र (११), धारा १२८ को (१) र (९) बमोजिम निज व्यक्तिहरुलाई आजकै मितिदेखि पार्टी सदस्यसमेत नरहने गरी निष्काशनसहितको कारबाही गरिएको’ भनी उल्लेख छ ।
उनीहरु जसपा नेपाल विभाजन गरी निर्वाचन आयोगमा दर्ता भएको अशोक राई नेतृत्वको जसपाको प्रदेश समितिमा आबद्ध भएका बताइएको छ । कारबाही गरिएकामा प्रदेश कोषाध्यक्ष केशरमान गुरुङ, प्रदेश निर्वाचन आयोग अध्यक्ष बिनोद नेम्बाङ, प्रदेश लेखा परीक्षण आयोग अध्यक्ष केवलराम राई छन् ।
त्यस्तै, प्रदेश कार्यकारिणी समिति सदस्यद्वय राम मान्डुप्पा र मिना राई, प्रदेश सदस्यहरु क्रमशः मनकला लङ्वा, रिता राई, सनम राजवंशी, लिलाबहादुर सुनुवार, गौरिमान राई र मिरा कार्की छन् ।
नेम्बाङ जसपा नेपालबाट इलामको माङसेबुङ गाउँपालिकामा निर्वाचित उपाध्यक्ष हुन् भने लङ्वा धनकुटा नगरपालिकाकी कार्यपालिका सदस्य हुन् । उनी नेपाली काँग्रेस र जसपा नेपालको चुनावी तालमेलमार्फत धनकुटा वडा नम्बर १ मा महिला सदस्य निर्वाचित भएकी थिइन् ।
झापाकी राजवंशीले जसपा नेपालको सिफारिसमा भूमि आयोगको जिल्ला सदस्यका रूपमा दुई वर्ष सुविधा भोग गरेकी थिइन् । त्यस्तै, गौरिमान राईलाई भने जसपा नेपाल प्रदेश १ ले केही महिना अगाडि मात्रै प्रदेश युवा तथा खेलकुद समितिमा सदस्य सिफारिस गरेर अवसर दिएको थियो ।