कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ मत खसेको छ । विपक्षमा ५ मत खसेको हो । कोशी प्रदेश सभामा नेतृत्व गर्ने ६ मध्ये ५ राजनैतिक दलले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मतदान गरेको हो ।
नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी नेपालका १ गरेर ८६ सांसदले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेको हो । कोशी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद रहेका छन् । जसमध्ये बुधबार पाँचथरका समानुपातिक सांसद प्रेमराज थाङसुहाङ्ग अनुपस्थित रहेका थिए । ५ सांसदले मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गरे ।राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मतदान गरेको हो ।
बुधबार प्रदेश सभाको बैठकमा ९१ सांसदको उपस्थिति रहेका थिए । नेपाली कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेसँग मिलेर कोशी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका कार्कीलाई सत्तागठबन्धन ४ दलले समेत विश्वासको मत दिएको छ । शनिबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आइतबार मुख्यमन्त्री पदको सपथ ग्रहण गरेका थिए ।