२० जेठ,विराटनगर ।मुकेश यादव
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले नेपालको राजनीति जसपाकै वरिपरि घुमिरहेको दावी गरेका छन् ।
शनिबार जसपा प्रदेश नम्बर १ समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।
‘संघीयता, पहिचान, धर्म निरपेक्षता, समाजवाद, समावेशीता, सुशासन लगायतको विषय आज नेपालको राजनीतिको केन्द्रमा छ’, यादवले भने । हामीले नै उठाएका विषय हुन् । त्यसैले राजनीति हाम्रै वरिपरि घुमिरहेकाे छ । चिन्ता गरिरहनु पर्ने आवश्यक छैन ।’
राजनीतिक भेटघाटकाे कार्यक्रममा प्रदेश १ का विभिन्न तहका पार्टी समितिहरुसँग छलफल र अन्तरकृयामा सहभागी भएका यादवले जसपालाई विधि र प्रकृयामा चलाउन विधान अधिवेशन गर्न लागिएको दावी गरेका छन।
उनले भने – ‘अबको ४ वर्षपछि पार्टीलाई बलियो स्थितिमा पुर्याउन सुदृढ पार्टी संगठन आवश्यक छ । त्यसका निम्ति स्पष्ट विधान बनाएर अगाडि बढ्नु पर्छ ।’
जसपाले आगामी असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन आह्वान गरेको छ ।
जसपा प्रदेश कार्यालय इटहरीमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष दिपक याक्खाको अध्यक्षता र मुख्य सचिव घनश्याम कट्वाले सञ्चालन गरेका थिए ।
अन्तरकृया कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रदेश १ सहइन्चार्ज निर्मला लिम्बू, राजनीतिक समिति सदस्यहरु जयराम यादव र सञ्जय सिंह राजपूतले बोलेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला र पालिका तहका नेता कार्यकर्ताले विभिन्न जिज्ञासा राखेका थिए ।
कार्यक्रमका बीच बारा २ मा भएको उपनिर्वचनबाट विजयीहासिल गरेकोमा यादवलाई जसपा प्रदेश १ समितिकाे तर्फबाट सम्मान गरिएको हाे।